प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
आश्विन २०८०
६८ औं प्रहरी दिवस २०८० कार्यक्रम सम्पन्न:
२०८०-०६-३०

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको प्राङ्गणमा लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८०।०६।३० गते ६८ औं प्रहरी दिवस २०८० को अवसरमा आयोजित समारोहमा श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय गृहमन्त्री सन्तोष कुमार पाण्डेयज्यू, विशेष अतिथि प्रमुख सचिव राधिका अर्यालज्यू, श्रीमान् गृह सचिव लालबाबु कवारीज्यू, बुटवल उप-महानगरपालिकाका प्रमुख श्रीमान् खेलराज पाण्डेयज्यू र अतिथिको रुपमा अन्य सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरू, अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारी, प्रहरीलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा अमर प्रहरी प्रतिको सम्मान र सम्झनासँगै अमर प्रहरीका आश्रित परिवारजनहरूलाई प्रमुख अतिथिबाट कदर पत्र प्रदान गर्नुको साथै ६८ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयद्वारा मिति २०८० असोज २१ गते देखि ऐ. २७ गते सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठण्माडौंमा आयोजित प्रहरी दिवस रनिङ् कप पुरुष भलिवल प्रतियोगितामा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तर्फबाट सहभागी भई प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरुलाई प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यू तथा प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीज्यूबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।          लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्र.नि.द्वय गंगा बहादुर सारू,  शोभा पाण्डेद्वारा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिबाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी अमर प्रहरीहरूको सम्झनामा शोक सलामी अर्पण गर्नुका साथै कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवान, प्रशिक्षक तथा प्रशिक्षार्थीहरू र अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारीद्वारा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको शुभकामना सन्देश लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेले बाचन गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान् प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीज्यूबाट प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यवाद ज्ञापन पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।  

अवैध लागूऔषधसहित व्राउनसुगर जस्तो वस्तु सहित मानिस पक्राउ
२०८०-०६-२८

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बोर्डरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुबन नगरपालिका-८ बस्ने ३३ वर्षीय राम बहादुर थारु र राजापुर नगरपालिका-१० बस्ने २१ वर्षीया सुनिता सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भारत लौकाईबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, मधुबन नगरपालिका-२ ओरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय दिनेश नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० मा लु्म्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ प्रथम
२०८०-०६-२७

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्नकाठमाडौं, ६८औं प्रहरी दिवस २०८० को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा शनिबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टीम लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र, प्रतियोगितामा सहभागि भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरूलाई प्रशंसापत्र तथा मायाको चिनो, सर्वोत्कृष्ट खलाडीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमको सुरुमा प्रहरी महानिरीक्षक कुँवरले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभएको उक्त प्रतियोगिताको आजै भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालाई ३-२ ले पराजित गरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टीम प्रथम भएको थियो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विजेता टिमलाई बधाई दिँदै यस प्रतियोगिताले समग्र नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढिकरण गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियता र देशप्रेमको भावनालाई उजार गर्ने विधाको रूपमा रहेको खेलकुदको विकास र प्रवर्धनका लागि सबै एकवद्धता हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आबद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण खलेकुद, नेपाल प्रहरी र नागरिकबिचको सम्बन्ध सुदृढ गर्न उत्तम माध्यम भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रलाई गौरवान्वित बनाउने अपेक्षा रहेको उहाँले बताउनुभयो । उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै खेलकुदलाई अझै सुदृढ गर्न नेपाल प्रहरीले विभिन्न प्रतियोगिता गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द तथा महासचिव रोशन श्रेष्ठले प्रतियोगिता वेष्ट ब्लकर, वेष्ट स्पाइकर र वेष्ट डिफेन्डरलाई र राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य प्रकाश कुसारीले प्रतियोगिताका वेष्ट सर्भर र वेष्ट सेटरलाई पुरस्कार वितरण गर्नुभएको थियो ।सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । सो अवसरमा खेलकूद कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। असोज २१ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।

करेन्ट लागेर दुई जनाको मृत्यु
२०८०-०६-१५

प्युठान, प्युठान नगरपालिका-७ टिकुरी बस्ने ५८ वर्षीय कमल केसीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।  तरकारी सिचाईका लागि सोही ठाउँस्थित रानी कुलोमा विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।   रूपन्देही, देवदह नगरपालिका-३ सेम्रहना बस्ने ३४ वर्षीया मनिषा चौधरीको करेन्ट लागेर आइतबार बेलुकी मृत्यु भएको   छ । आफ्नै घरमा रहेको मासु पसलको डि-फ्रिजबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।    दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रक्त चन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ
२०८०-०६-१४

कपिलवस्तु, १४ असोजबुद्धभूमी नगरपालिका-१ पत्थरकोटबाट रक्त चन्दन जस्तो देखिने काठ करिब ६ सय ५३ केजी १ सय ८८ ग्रामसहित शिवराज नगरपालिका-३ बस्ने २६ वर्षीय टिकाराम पाण्डे र अर्घाखाँची पाणिनी गाउँपालिका-७ पोखेडाँडा बस्ने ३३ वर्षीय गोकुल दर्लामी लगायत ८ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।        विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना.५ ख ७३८२ नम्बरको ट्रकमा ६ सय १६ केजी ९ सय ७० ग्राम  र लु.२ च १६३९ नम्बरको पिकअपमा ३६ केजी २ सय १८ ग्राम गरी उक्त परिमाणको काठ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी ट्रक चालक टिकाराम र पिकअप चालक गोकुल लगायत उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई उक्त गाडी र काठसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय तौलिहवा  कपिलवस्तुमा बुझाइएको छ । 

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०६-०७

तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै आमा ६५ वर्षीया कमला कुमारी हमालसमेत घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको प्रहरीले टेक बहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको हो । साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा वीर बहादुर उपचार पश्चात डिश्चार्ज भएका छन् भने कमला कुमारीको नर्सिङहोम नेपालगंजमा उपचार भइरहेको छ ।             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton), २०८० सम्पन्न ।
२०८०-०६-०६

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण टोलीद्वारा २०८० असोज ०६ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण सम्पन्न भयो ।अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेल सहितको प्रहरी टोलीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नु भएको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलीले लुम्बिनी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ति सुरक्षाका लागि प्रहरीबाट थालनी गरिएका नयां अभ्यासहरू लगायतका विविध विषयमा स्थलगत अवलोकन गरी लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीबाट उक्त विषयहरूमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरूमा रहेका सम्पूर्ण शाखाहरूमा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो ।निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. उमेश राज जोशीले उपस्थित सम्पूर्णमा धन्यवाद दिदैं ऐ. १२:३० बजे कार्यक्रम समाप्त भएको थियो ।

कुटपिटबाट एक जनाको मृत्यु, संलग्न चार जना पक्राउ
२०८०-०६-०१

पाल्पा, १ असोजतिनाउ गाउँपालिका-२ घोडेबास बस्ने २४ वर्षीय सुनिल खत्रीको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय तिलक पुनसमेत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।सोही ठाउँस्थित तीज नाच भइरहेको स्थानमा सुनिल खत्री र उनकै साथीहरू बिच झै-झगवा तथा कुटपिट हुँदा गम्भीर घाइते भएका खत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<